Search This Blog

Apr 19, 2016

किसानका मोवाइलमा ‘कृषि घर’


डिलप्रसाद शर्मा

सुर्खेत, ५ वैशाख । 

सुर्खेतमा ‘कृषि घर’ मोवाइल एप्स प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालयले कृषि सेवा सम्बन्धी किसानलार्ई सहज जानकारी दिन मोवाइल प्रविधि ‘कृषि घर’ एप्स शुरु गरेको हो । 

अब इन्टरनेट सुविधाको प्रयोग गरी मोवाइलबाट नै किसानहरुले एप्स डाउनलोड गरेर घरमै बसी कृषि सम्बन्धी सबै खाले जानकारी लिन सहज हुने भएको छ । 

कृषिसम्बन्धी जानकारी लिन प्राविधिकहरुको सहयोगको खाँचो समेत नपर्ने गरी बनाईएको उक्त प्रविधिको आइतबार वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ । वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालाल रेग्मी र बरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले मोवाइलमा ‘कृषि घर’ थिचेर उक्त प्रविधिको उद्घाटन गरेका छन् । यो एप्स किसानहरूलाई कृषि उत्पादनका लागि आवश्यक सूचना, जानकारी र प्रविधिहरू सम्बन्धित सेवा प्रदायक निकायहरूबाटै उपलब्ध गराऊन प्रयास गर्ने लक्ष्यसहित शुरु गरिएको नौलो प्रविधि हो ।

कृषिजन्य समस्या र त्यसको समाधान, मौसमको जानकारी, मौसम अनुसारको कुन बाली कहिले र कसरी लगाउने तरिका, कृषि सूचना तथा प्राविधिकलगायतका कृषिसँग सम्बन्धित विविध पक्षबारे जानकारी गराउने उद्देश्यले कृषि मोबाइल एप्सको शुरुवात गरिएको बरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले बताए । मध्यपश्चिममा पहिलो पटक सुर्खेतमा यस्तो प्रविधि भित्रिएकाले सूचना प्रविधिका दृष्टिकोणले यस क्षेत्रकै नमूना जिल्लाका रुपमा अघि बढ्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  

यस एप्सले किसानलाई बाली रोग, पशु रोगका विभिन्न समस्याको समाधान, बाली लगाउँदा प्रयोग गर्नुपर्ने रासायनिक मल तथा विषादीको उचित प्रयोग, पशुमा लाग्ने रोगका लक्षण र व्यवस्थापन प्रविधि, कृषि बजारको जानकारी, मौसमको पूर्वजानकारी जस्ता अत्यावश्यक जानकारीलाई मोवाइल मार्फत दिनेछ । किसानले आफ्नो कुनैपनि एन्ड्रोइड मोबाईल सेटमा सेवाप्रदायक निकायहरूबाट किसानका लागि समय र स्थान सान्दर्भिक पठाइएका उपयोगी कृषि प्रविधि, सूचना तथा जानकारीहरू टेक्स्ट म्यासेजका रूपमा प्राप्त हुनेछ । अफलाइन मोडमा समेत पहिलेका म्यासेजहरू पढ्न सकिने सुविधाका कारण किसानलाई अनलाइन बस्नुपर्दाको खर्च र समय बचत हुने बताइएको छ । 

यो प्रविधिका कारण जिल्लाका किसानहरुले कृषि सम्बन्धी जानकारी लिनका लागि अब सदरमुकाममा रहेको कृषि कार्यालयमा आउनुपर्ने समस्याबाट समेत मुक्ति पाउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । किसानका लागि आवश्यक प्राविधिक सेवा उपलव्ध गराउन समेत कठिन भईरहेको अवस्थामा बिषय विशेषज्ञहरु मार्फत किसानलार्ई आवश्यक जानकारी उपलव्ध गराउन र किसानका लागि आवश्यक हुने सामाग्रीहरु उनीहरुकै हात हातमा रहेको मोवाइल सेटमा नै उपलव्ध गराई जानकारी गराउन एप्सले मद्धत पुग्ने अपेक्षा गरिएको छ । 

यो एप्सलाई किसानहरुले आफ्नो मोबाइलमा इन्स्टल गरी आफ्नो क्षेत्र र बाली रोजेर सम्बन्धित सेवा प्रदायक निकायबाट सूचना प्राप्त गरी प्राविधिकबाट दिइएका सुझाव र सल्लाह अनुसरण गर्न सकेमा यसले कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्नमा उल्लेख्य सहयोग पुग्ने सरोकारवालाहरुले बताएका छन् । 

यसैबीच, उक्त ‘कृषि घर’को उद्घाटन कार्यक्रममा सोतखोला एकिकृत जलवायू जन्य जोखिम व्यवस्थापनका बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रममा यूएनडिपीका बरिष्ठ योजना अधिकृत दीपक केसीले सोतखोला परियोजनाका साथै नेपालमा कृषिको अवस्थाका बारेमा सहभागिलाई जानकारी दिएका थिए । नेपालमा अहिले पनि ८० प्रतिशत नागरिक बाढीपहिरोको कारण विपद्मा परिरहेको बताउँदै उनले १ बर्षको अवधीमा नेपालमा १० लाख मानिसहरु विविध खालका विपद्मा पर्ने गरेको बताए । 

सन् २००९ को तथ्याकंलाई हेर्दा विविध खालका विपद्बाट नेपालको कृषि क्षेत्रबढी जोखिममा रहेको केसीले जानकारी दिए । सन् २०५० सम्ममा दक्षिण एशियामा कृषिबालीको उत्पादन ३० प्रतिशतले ह्रास हुने एक अध्ययनले देखाएको पनि उनले बताए । जलवायू परिवर्तनका कारण नेपालमा कृषि क्षेत्र अन्य क्षेत्रको तुलनामा जोखिममा रहेको बताईएको छ ।

0 comments:

Post a Comment