सुर्खेत, ६ वैशाख ।
गाउँ विकास समितिका सचिवहरुले जिल्लाका सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको सेवन तथा विक्रि वितरणलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन् । सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र सुर्तिजन्य पदार्थको हानिकारक असरबारे जिल्ला स्वास्थ्य कार्यालयले सोमबार आयोजनामा गरेको गाविस सचिवबीचकोे अन्तरक्रिया कार्यक्रममा सहभागि सचिवहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
धुम्र्रपान तथा सुर्तिजन्य पदार्थको सेवन तथा विक्रि वितरण विरुद्धमा गाविस सचिवहरुको समिति गठन गरी अभियानका रुपमा नै लाग्ने उनीहरुले बताएका छन् । विद्यापुर गाउँ विकास समितिका सचिव नारायणदेव गिरीले धुम्रपान तथा सुर्तिजन्य पदार्थको खुल्ला रुपमा विक्रि वितरणमा रोक लगाउन गाविस सचिवहरुले अभियान नै चलाउने तयारी गरेको बताए । गिरीले भने, ‘धुम्रपान तथा सुर्तिजन्य पदार्थ खुल्ला रुपमा विक्रि वितरणमा रोक लगाउन अब शुरुवात हामी सचिवहरुले गर्दै छौ ।’ उनले गाविस सचिवहरुले शुरुवात गरे मात्र अभियान सफल हुने बताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को जानकारी दिँदै प्रत्येक कार्यालयका कर्मचारीहरुले यस विरुद्धको अभियानमा साथ दिनुपर्ने बताए । उनले गाविस सचिव सरकारी निकायको जिम्मेवार व्यक्ति भएकाले सचिवहरुले नै यस अभियानलाई अगाडि बढाउनु पर्ने बताए ।
सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दा गदै पनि जवरजस्ती र लुकी छुपी बेचविखन गरेको पाईएमा कारवाही हुने नीतिनियमलाई कार्यान्वय गर्न आवश्यक रहेको उनको भनाई थियो । प्रशासकीय अधिकृत पौडेलले धुम्रपान तथा सुर्तिजन्य पदार्थ बालबालिका र गर्भवती महिलाले बेच्न नपाइने र बेचेको पाइएमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार कारवाही हुने बताए । उनले प्रत्येक कार्यालय अगाडि धुम्रपान तथा सुर्तिजन्य पदार्थ निषेधित क्षेत्रको सन्देश मुलक पर्चा ठास्नु पर्ने बताए ।
यस्तै, जिल्ला जन स्वास्थ्य कार्यालयका सुचना अधिकृत बसन्तकुमार श्रेष्ठले सुर्तिजन्य पदार्थ सेवनबाट मानव शरीरलाई पर्न सक्ने असरका बारेमा जानकारी गराएका थिए । कार्यालय, विद्यालय, बस तथा सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको सेवन गर्न नपाइने उनले बताए । उक्त कार्यक्रम जिल्ला जन स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत लोकबहादुर शाहीको सभापतित्वमा भएको थियो ।
0 comments:
Post a Comment