Search This Blog

Mar 14, 2016

काँग्रेस १३ औं महाधिवेशन, पूर्णबहादुर खड्का केन्द्रिय सदस्यमा निर्वाचित

काँग्रेस खुला तर्फका २५ केन्द्रिय सदस्यको टुंगो
काठमाडौं, १ चैत ।




नेपाली काँग्रेसको खुला तर्फका २५ केन्द्रिय सदस्यको टुंगो लागेको छ । सुर्खेत क्षेत्र नम्बर १ का सांसद एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । 
सोमवार सम्पन्न मतगणनाको परिणाम अनुसार खड्काले १ हजार ६ सय ८६ मत ल्याएर दशौँ स्थान प्राप्त गरेका हुन् ।  

१२ औं महाधिवेशनबाट पनि खुलातर्फ केन्द्रिय सदस्यमा निर्वाचित भएका खड्का सहमहामन्त्रीमा मनोनीत भएका थिए । खड्काले केही समयअघि सहमहामन्त्रीबाट राजीनामा दिएका थिए । 
यद्यपी पार्टीले भने उनको राजीनामा स्वीकृत गरेको थिएन । 
सोमबार सकिएको मतगणना अनुसार डा. शेखर कोइरालाले सबैभन्दा बढी १ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै, खुमबहादुर खड्काले १ हजार ८ सय ४६ मत र प्रकाशमान सिंहले १ हजार ७ सय ९५ मतसहित दोस्रो र तेस्रो भएका छन् । 
निर्वाचित हुनेहरुमा देउवा पक्षका खुमबहादुर खड्का, कुलबहादुर गुरूङ, पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, प्रदीप गिरी, रमेश लेखक, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी र प्रकाशशरण महत छन् ।
 त्यस्तै पौडेल पक्षबाट डा. शेखर कोइराला, प्रकाशमान सिंह, महेश आचार्य, डा. रामशरण महत, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, नारायण खड्का, प्रदीप पौडेल, धनराज गुरुङ र बद्री पाण्डे निर्वाचित भएका छन् । निर्र्वाचित हुनेमा अधिकांश पुरानै र पाका अनुहार छन् । 
खुलातर्फको केन्द्रिय सदस्यमा, रमेश लेखक, विश्वप्रकाश शर्मा नयाँ अनुहार हुन् । मत परिणाम अनुसार नवनिर्वाचित सभापति शेरबहादुर देउवा समूहका १४ जना विजयी भएका छन् भने रामचन्द्र पौडेल समूहका ११ जना विजयी भएका छन् । ९० जना प्रतिस्पर्धीमध्ये १४ सय २० भन्दा धेरै मत पाउने २५ जना केन्द्रिय सदस्यमा चयन भएका हुन । उम्मेदवारमध्ये ७ जनाले १ सय मत पनि कटाउन सकेनन् ।
प्रदेश केन्द्रिय सदस्यमा थानी र शाही विजयी
काँग्रेसको १३ औं महाधिवेशनमा प्रदेशतर्फको नतिजा पनि सार्वजनिक भएको छ । सोमबार साँझ सार्वजनिक मतपरिणामअनुसार ७ वटै प्रदेशबाट नवनिवाचित सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित रामचन्द्र पौडेल प्यानलका बराबर ७–७ जना निर्वाचित भएका छन् । 
केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश ७ बाट हृदयराम थानी र जीवनबहादुर शाही निर्वाचित भएका छन् । यस्तै प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे र भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । २ नम्बर प्रदेशबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल, ३ नम्बर प्रदेशबाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत विजयी भएका छन् । ४ नम्बर प्रदेशबाट गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डे, ५ नम्बर प्रदेशबाट दीपक गिरी र देवेन्द्रराज कँडेल, र ७ नम्बर प्रदेशबाट दिलेन्द्रप्रसाद बडु र बीरबहादुर बलायर निर्वाचित भएका छन् ।

0 comments:

Post a Comment