सुर्खेत, ३ चैत ।
वीरेन्द्रनगरमा कृषि उपज थोक बजार केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रका कृषकहरु उत्साहित भएका छन् । बजार पूर्वाधार अभावका कारण बजारमा छरिएर रहेका व्यापारी र उत्पादक कृषकहरुबीच कारोबार गर्न समस्या भइरहेका बेला उपज केन्द्र सञ्चालनमा आएपछि कृषकहरु उत्साहित भएका हुन् ।
कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने र स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणामा कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो । उत्पादित वस्तुको विक्रि बजार स्थल भएपछि कृषकहरु व्यवसायीक खेतीतर्फ पनि अग्रसर हुँदै गएको बताइएको छ । मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाहरुबाट संकलन भएका कृषि उपजहरु जुम्ला, दैलेख, कालीकोट, बाँके, बर्दिया, दाङ्ग, पोखरा, बुटवल, चितवन कञ्चनपुरलगायतका जिल्लाहरुमा विक्रि वितरण हँुदै आएको बुलबुले क्षेत्रीय कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष हर्कबहादुर खत्रीले बताए । स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज सङ्कलन गरी सहज रूपमा बजारसम्म पु¥याउने उद्देश्यले कृषि विकास मन्त्रालय र कृषिका क्षेत्रमा काम गर्ने अन्य संस्थाहरुको सहयोगमा केन्द्र स्थापना गरिएको हो । नगरविकास समितिबाट लिइएको १८ कठ्ठा क्षेत्रफलको जग्गामा पूर्वाधार निमार्ण गरी सञ्चालनमा ल्याइएको उक्त उपज केन्द्रको पूर्वाधार निमार्णका लागि झण्डै १ करोड ४० लाख लगानी भएको बताइएको छ । लगानी भएको रकम मध्ये ९५ प्रतिशत सरकारको मात्रै लगानी छ ।
उपज केन्द्रमा हाल केहि तरकारी तथा फलफूल मण्डी मात्रै सञ्चालन गरिएको छ । ‘अन्य मण्डीहरु संचालनका लागि १० वटा कोठा निमार्णको काम सम्पन्न भईसकेकाले केहि दिनभित्र अन्य व्यवसायीहरुले पनि उपज केन्द्रभित्र मण्डी सञ्चालन गर्न पाउँछन्,’ सञ्चालक समितिका उपाध्यक्ष प्रवल शाहीले भने । उनका अनुसार वीरेन्द्रनगरमा छरिएर रहेका तरकारी तथा फलफुल व्यवसाय धेरै भएकाले हाल केन्द्रमा निमार्ण गरिएका भवनहरु प्रयाप्त भने छैनन् । शाहीले भने,‘ हामीसँग १० कोठा छन् । २८ निवेदन परेका छन् । सबैलाई समेट्न गाह्रो छ ।’ उनले समितिले निर्देशिका र कार्यविधि बनाएर केन्द्रलाई व्यस्थित गर्न लागेको पनि जानकारी दिए ।
सञ्चालक समितिले परेका निवेदनहरुको छनोट समिति बनाई टुंगो लगाउने तयारी गरेको छ । उपज केन्द्रमा हाल सञ्चालनमा रहेका मण्डीहरुबाट ४१ हजार ३ सय ५० क्वीन्टल तरकारी तथा फलफुलको कारोबार हुने गरेको छ । बुलबुले क्षेत्रीय कृषि उपज थोक बजार केन्द्रले कृषि उपजको मूल्य एग्रीबीज मार्फत जानकारी दिने, कृषकहरुलाई एकद्धार प्रणालीबाट उत्पादित वस्तुहरु विक्रि गर्न प्रोत्साहन गर्ने र प्रांगारिक उपज विक्रिका लागि छुट्टै स्टलको व्यवस्था गर्नेलगायतका प्रयासहरु गरिरहेको छ । यस्तै जिल्ला कृषि विकास कार्यालय र उच्च मूल्य कृषि वस्तु विकास आयोजनालगायतका कार्यालयहरुसँग समन्वय गरी कृषि वस्तुको बजारीकरणका लागि काम गरिरहेको समितिले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख विजयकुमार गिरीले उपज केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि बजार पूर्वाधार अभावका कारण व्यापारी र उत्पादक कृषकहरुले आफ्नो कृषि उपज डुलाएर विक्रि गर्नुपर्ने बाध्यता केही हदसम्म भएपनि कम हुने बताए । उपज केन्द्रका लागि शौचालय, कम्पोस्ट विट, लेबलिङ र ढल निकासको लागि नाला निमार्ण जस्ता अत्यावश्यक पूर्वाधारको भने निमार्ण हुन सकेको छैन ।
यसैबीच, कृषि विकास मन्त्रालयको टोलीले उक्त उपज केन्द्रको मंगलबार अनुगमन तथा निरिक्षण गरेको छ । अनुगमनका क्रममा तरकारी तथा फलफूल व्यवसायी र विषयगत कार्यालयका प्रतिधिहरुबीच आयोजना गरिएको अन्तरक्रियाका सहभागिले उपज केन्द्रले व्यवसायीक योजना बनाएर केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कृषि उपज केन्द्रको संचालक समितिलाई केन्द्रलाई व्यवस्थित र दिगो बनाउन व्यवसायीक योजना बनाएर काम गर्न सुझाव दिए । उनले युवाहरुलाई कृषि कर्ममा टिकाईराख्न बजार, कृषक समुह र सहकारीको सम्बन्ध मजबुत बनाउँदै लैजानु पर्ने बताए । सचिव भट्टराईले यस क्षेत्रको कृषिलाई व्यवसायीक र बजारीकरण गर्न मन्त्रालयले सहयोग गर्ने बचन पनि दिए । उक्त अन्तरक्रियामा कृषि विभागका महानिर्देशक डा.युवकध्वज जिसी, नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक रामबहादुर केसी, राष्ट्रिय योजना आयोगका सह– सचिव बालकृष्ण घिमिरे, उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्र भारी, उच्च मुल्य कृषि वस्तु विकास आयोजनाका क्षमता विकास अधिकृत हरिमदन अधिकारी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष अमृतबहादुर विसीलगायतको उपस्थिती रहेको थियो ।
0 comments:
Post a Comment