Search This Blog

Jan 16, 2016

बाबियोको डोरीले फेरियो दैनिकी



कपिलवस्तुको शिवराज नगरपालिका वनकसबासाका सुकुम्वासीले बाबियोलाई आफ्नो मुख्य आयस्रोत बनाएका छन् । उनीहरूले बाबियोबाट डोरी बनाउने तालिम लिएपछि डोरी बनाएर बेच्ने कला र सीपलाई आयआर्जनको राम्रो स्रोत बनाएका हुन् । महेन्द्र राजमार्गको जङ्गल छेउमा विगत २० वर्षदेखि बस्दै आएका ४५ घर सुकुम्वासीलाई बाबियोको डोरी बनाउने व्यावसायिक तालिम दिएपछि उनीहरू दैनिक रुपमा घर व्यवहारका लागि चाहिने रकम डोरी बेचेर कमाउने गरेका छन् ।

विपन्न र गरिब समुदायलाई उनीहरूको क्षमता र ज्ञानले भ्याउन सक्ने सीप र कला दिए जीविकोपार्जनमा सहयोग पुग्ने तथ्यलाई ध्यानमा राखेर स्थानीयस्तरमा प्रशस्त पाइने बाबियोबाट डोरी बनाउने सीप र उपकरण युएनडिपीको लघु उद्यम विकास कार्यक्रमले जुटाइदिएको हो ।

राजमार्ग वरपरका ३५ घर सुकुम्वासी अहिले डोरी बनाइ बिक्री गर्ने जागृति लघु उद्यमी समूहमा आवद्ध भइ दैनिक काम गरिरहेका छन् । डोरी बनाउनका लागि १५ वटा मेसिन र सीप दिई सहयोग पुर्‍याएइको छ । लघु उद्यम विकास कार्यक्रमले समूहका सदस्यहरू पालैपालो गरेर काम बाँडेका छन् । कोही बाबियो काट्न गएका बेला कोही डोरी बनाउने काम गर्दछन् भने कोही बनाएको डोरीलाई मुठा बनाउँछन् ।

पाँच समूहले बेच्छन् डोरी

यता पाँचजनाको समूह स्थानीय बजारमा डोरी लगेर बिक्री गर्ने काममा लागेका छन् । ‘बजारमा डोरीको अत्यधिक माग रहेकाले बिक्री गर्दा कुरेर बस्नु पर्ने अवस्था सिर्जना नभएको सकुम्वासी गीरबहादुर बस्नेत बताए । यो पेशाबाट राम्रो आय गरी आफू सन्तुष्ट भएको उनले बताए । राम्ररी काम गरे दिन दैनिक चारपाँच सय रुपैयाँसम्मको कमाई हुने हुँदा चारजनाको परिवार सञ्चालन गर्न सजिलो भएको स्थानीय हीरामाया घर्तीले बताइन । अहिले बनकसवासाबासीले बाबियोको डोरी नेपालको विभिन्न जिल्ला र छिमेकी मुलुक भारतमा समेत बिक्री गर्दै आएका छन ।

बाबियो जङ्गलमा मंसिरदेखि जेठसम्म पाइने हुँदा डोरी बनाउने काम वर्षमा सात महिना हुने गर्दछ । बाबियोको डोरी खाट बुन्न, घर छाउन र अन्य घरेलु काममा उपयोग आउँछ । यसअघि उनीहरू काठ, दाउरा बिक्री र दैनिक मजदुरी गरी जीविकोपार्जन गदै आएका थिए ।
(अनलाइन खवर बाट साभार गरिएको ।)

0 comments:

Post a Comment