Search This Blog

Jan 5, 2016

इन्धन अभावको वहानामा वन फडानी बढ्यो

तस्विर गुगलबाट साभार गरिएको हो ।
डिलप्रसाद शर्मा
सुर्खेत, १९ पौष ।
अघोषित नाकाबन्दी र तराई मधेशमा जारी आन्दोलनका कारण इन्धन अभाव झेलिरहेका सर्वसाधारणहरु दाउराको जोहो गर्न सामुदायिक वनमा छिर्न थालेका छन् । दाउरा लिन जानेमा उपभोक्ता समितिभन्दा बाहिरका सर्वसाधारण बढी रहेकाले वन फडानी बढ्न थालेको हो । खाना पकाउने ग्यासको विकल्पका रूपमा बजार क्षेत्रका उपभोक्ताहरु सामुदायिक वनमा दाउरा लिन जान थालेपछि वन फडानी बढेको छ । ग्यासको प्रयोग गर्दै आएका बजारका उपभोक्ताले ग्यास पाउन छाडेपछि खाना पकाउने विकल्पको रूपमा दाउरा खोज्दै सामुदायिक वनमा पस्न थालेका छन् ।
यसरी सर्वसाधारणहरु जथाभावी वनमा दाउरा काट्न थालेपछि फडानी बढेको छ । कुहिन लागेका र नदिको छेऊछाउमा दविएर रहेका दाउरालाई संकलन गरि विक्रि वितरण गर्न जिल्ला वन कार्यालयले अनुमति दिएपनि सर्वसाधारणले मनोमानि रुपमा दाउरा संकलन गरि विक्रि वितरण गर्दै आएको पाइएको छ ।  वन फडानी रोक्नका लागि जिल्ला वन कार्यालयले सामुदायिक वन उपभोक्ता समितिसँग अन्तरक्रिया, छलफल गरिरहेको जिल्ला वन अधिकृत हेमराज विष्टले जानकारी दिए । वन संरक्षणका लागि सशस्त्र वन रक्षक परिचालन गरेर संरक्षणका लागि अभियान चलाइएको उनले बताए । ‘साँझ बिहान चुल्हो तताउने जोहो गर्न सर्वसाधारण उपभोक्ता दाउरा खोज्न वन छिरेका छन्, तिनमा उपभोक्ता समूह बाहिरका व्यक्ति पनि छन्,’ अधिकृत विष्टले भने । सुकेका हाँगा, भाँचिएका रूख ल्याउने गरेपनि ठूला रूख ढालेरको आफूलाई जानकारीमा नभएको उनले बताए । कार्यालयका अनुसार जिल्लामा चार सय सामुदायिक वन रहेका छन् ।
ग्रामिण क्षेत्रका सर्वसाधारणले आफुखुसि वनमा पस्ने र दाउरा विक्रि वितरण गर्ने गरेका छन् । यसरी वनबाट ल्याइएका दाउरा छिन्चु र गिरीघाँट आसपासको क्षेत्रका सर्वसाधारणले सडक छेउछाउमा विक्रि वितरण गर्ने गरेको पाइन्छ । ती स्थानहरुबाट वीरेन्द्रनगर भित्रिने गाडीहरुमा दाउरा ल्याउने गरिएको छ । वन अधिकृत विष्टका अनुसार सामुदायिक वनमा हतियारसहित छिर्नु अवैध हो । यसरी सामुदायिक वनबाट दाउरा काटेर विक्रि वितरण गर्ने कतिपयलाई भने कारबाही समेत गरेको अधिकृत विष्टको भनाई छ । ग्यास अभावले उपभोक्ताको चुलो नबलेको समयमा सडक किनारामा बिक्रीका लागि राखिएका दाउरा समातिय पनि दाउरा सिल गर्न नसकिएको उनले बताए । यसरी ग्रामिण क्षेत्रबाट ल्याइएका दाउरा नगरक्षेत्रमा पनि बिक्री वितरण हुँदै आएको छ । जिल्ला वन कार्यालयले सर्वसाधरणका लागि भनेर सहुलियत दरमा दाउरा वितरण गरेपनि वन कार्यालयले बाँडेको दाउरा लिने भन्दा वनमा दाउरा खोज्न जाने बढी छन् । अधिकृत विष्टले भने–‘सामुदायिक वनमा मनोमानी रुपमा दाउरा काट्नेलाई कारबाही गरेका छौं, कोहीलाई सम्झाई बुझाई छोडिएको छ ।’ वन कार्यालयले इन्धन संकटमा सर्वसाधारणलाई दाउरा दिएर सहयोग गर्न वन उपभोक्ता समितिहरुलाई  आग्रह गरिएको बताए । यसैगरी वन क्षेत्रमा अतिक्रमण पनि बढ्दै गएको छ । जिल्ला वन कार्यालयको तथ्यांक अनुसार जिल्लाका विभिन्न १४ स्थानमा बाढी पहिरो प्रभावितहरुले ५ दशमलव ४ हेक्टर क्षेत्रफल अतिक्रमण गरेका छन् भने भूमिहिनहरुले ४२ स्थानमा तीन सय ७४ दशमलव ४, विभिन्न संघ–संस्थाहरुले १३ ठाउँमा ११ दशमलव २ हेक्टर र अन्यले २ सय ७८ दशमलव ५ हेक्टर क्षेत्रफलमा अतिक्रमण गरी बसेका छन् । यता स्थानीय बासिन्दाले वन फँडानी बढेपछि नियन्त्रणका लागि सरोकारवाला निकायले ध्यान नदिएको गुनासो गरेका छन् ।

0 comments:

Post a Comment