Search This Blog

Jan 27, 2016

३६ वर्षदेखि स्कुल,५ पास गर्ने कोही भएनन्


हुम्ला, माघ १४ 
साढे तीन दशकअघि खुलेको विद्यालयमा पढेका एक जनाले पनि पाँच कक्षा उत्तीर्ण गरेका छैनन् । हुम्लाको लिमी गाविसको यथार्थ हो यो ।
हिमपातले आवागमन रोकिँदा झन्डै ६ महिना लिमीका तीन वटा बस्तीको सदरमुकामसँग सम्पर्क टुट्छ । जिल्लाको उत्तरी भेगमा चीनको तिब्बत सीमावर्ती इलाकाका ती बस्तीमा न नियमित पढाइ हुन्छ, न अनुगमन नै । अधिकांश विद्यार्थीले पाँच कक्षा पढिनसकी विद्यालय छाड्छन् । विद्यालय खुलेको ३६ वर्ष पुगिसकेको छ । गाउँका पाँच कक्षा उत्तीर्ण गरेका कोही नभएको गाविसका पूर्वअध्यक्ष छेवाङदोर्जे लामाले बताए । लिमीमा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन् । ती बस्तीका लागि आव ०३५र३६ मा तीन वटा प्राथमिक विद्यालय स्थापना भएका थिए । तिनमा २र२ शिक्षकको दरबन्दी छ । ‘तीन वटै गाउँमा १र२ जनाले आठ कक्षा उत्तीर्ण गरेका छन् । उनीहरू काठमाडौंमा अध्ययन गरी फर्केका हुन्,’ लामाले भने, ‘विद्यालय छ भन्नु मात्र । गाउँले साक्षर भएबाहेकको उपलब्धि छैन ।’ लिमीका मध्यम र उच्च आर्थिक हैसियतका परिवारले आफ्ना छोराछोरी काठमाडौंका सुविधा सम्पन्न विद्यालयमा पढाउने गरेका छन् । निम्न आय भएकाहरूले मात्र गाउँमै पढाउँछन् । कतिपयले धार्मिक शिक्षा पढाउन गुम्बामा पठाएका छन् । काठमाडौंका  सुविधायुक्त विद्यालयमा पढेका विद्यार्थी गाउँ फर्किन चाहँदैनन् । त्यसको साटो वैदेशिक रोजगारीमा जान्छन् । गाउँमा रोजगारीको अवसर नभएको, सामान्य भौतिक सुविधाबाट पनि वञ्चित रहनुपर्ने र स्थानीय उत्पादनले समेत जीवन निर्वाह गर्न नसकिने भएकाले शिक्षित युवा गाउँ फर्किंदैनन् । स्थानीय विद्यालयमा विद्यार्थी नियमित आउँछन्, शिक्षकको अत्तोपत्तो हुँदैन । हुम्लामा फागुनबाट शैक्षिक सत्र सुरु हुने भए पनि जेठसम्म हिउँले बाटो अवरुद्ध हुनाले शिक्षक ढिलो गाउँ आइपुग्ने गरेको स्थानीय कन्जोकनिमा तामाङले बताए । तर, लामो समय बस्दैनन्, फर्किहाल्छन् । दरबन्दीका शिक्षकले नपढाए पनि गाउँका विद्यालय भने नियमित खुल्छन् । उनीहरूलाई काठमाडौंमा पढेर आएका युवाले पढाउने गरेको तामाङले जानकारी दिए । निजी स्रोतका यस्ता शिक्षकलाई अभिभावकले पैसा उठाएर तलब सुविधा दिने गरेका छन् । तामाङका अनुसार निजी स्तरबाट पढाइ हुने भएकाले कात्तिकमा खेतपाती थन्क्याएपछि गरिने गाउँ बैठकका लागि १५ दिन मात्र बिदा दिने चलन छ । विद्यार्थीको चाप बढ्न थालेपछि हल्जी गाउँमा काठमाडौंमा ८ कक्षा पढेर फर्केका खेन्डाप तामाङले बोर्डिङ स्थापना गरेका छन्, जसमा अंग्रेजी माध्यममा पढाइ हुन्छ । स्थानीय विद्यालयमा पाँच कक्षासम्म पढाउने अनुमति छ, पढाइ भने तीन कक्षासम्म मात्र हुने गरेको जिल्ला शिक्षा अधिकारी धर्मजित शाहीले बताए । ‘सम्पन्न परिवारले सहरका विद्यालयमा पढाउन लैजाने र निम्न आय भएकाहरूले निस्शुल्क धार्मिक शिक्षाका लागि गुम्बामा पुर्‍याउने गरेका रहेछन्,’ उनले भने, ‘गाउँबाट लान नसक्ने अभिाभावकले पढाइ छुटाएर मजदुरीमा लगाउने गरेको पाइयो ।’
(माघ १४ गतेको कान्तीपुर अनलाईन बाट साभार गरिएको हो ।)

0 comments:

Post a Comment