Search This Blog

Jan 21, 2016

एकै दिन बीस कार्यालयका एक्चालिस कर्मचारी अनुपस्थित

सरकारी कानुनको यसरी धज्जी उडाउँछन् कर्मचारी

सुर्खेत, ५ माघ ।
           
                राष्ट्रिय सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुङगाना मंगलबार दिउँसो सुटुक्क मालपोत कार्यालय पुगे । सेवाग्राही झै कालो झोला बोकेर लेखनदासहरु भएतिर गए उनी । लेखनदासहरुले उनलाई देखेका मात्र के थिए, उनको काम गरिदिन्छौ भन्दै चार पाँच जनाले ताना तान गर्न थाले ।
कार्यालय हाताभित्र अफिस जमाएर बसेका लेखनदाससँग उनले आफू जग्गा पास गर्न आएको र त्यसका लागि रजिष्टेशन गर्न लेखनदासको दर कति रुपैयाँ लाग्ने हो भनि सोधे । कोहिले ७ सय भने त कोहिले ७ सय ७० रुपैया लाग्ने र उक्त रकमको २० प्रतिशत कार्यालयको कम्प्यूटर शाखामा भद्र सहमति अनुसार बुझाउनु पर्ने बताए ।
त्यति सुनेका उनी म केहि बेरमा आउँछु है भन्दै मालपोत अधिकृत काशीराम खत्रीको कार्यकक्ष तिर लागे । अधिकांश कोठामा कर्मचारी नदेखेका उनले अधिकृत खत्रीलाई सोधिहाले तपाईका कर्मचारी कहाँ छन् ? जवाफमा खत्रीले भने खाजा खान गएका होलान । खाजा खाने समय कति बेला हो भनि सोधेको प्रश्नमा खत्रीले २ देखि ३ बजे हो भन्ने जवाफ दिए । उप–सचिव ढुङगाना कार्यालय प्रमुखलाई नै खाजा खाने समय थाहा नभएको देखेर एक छिन् दङग परे । खत्रीलाई १ देखि २ बजेको समयमा आलोपालो गरि खाजा खान जानुपर्ने सरकारी नियम भएको ढुङगानाले जानकारी गराए ।
त्यसपछि उनी मालपोतसँगै जोडिएको नापी कार्यालयमा पुगे । सरासर नापी अधिकृत धर्मराज ओझाको कार्यकक्षमा पुग्दा ओझालाई सरकारी पोशाकमा नदेख्दा केहिबेर सरकारी पोशाकको महत्वबारे उनले प्रष्ट्याए । ओझाले आफू भर्खरै फिल्डबाट आएकाले पोशाक नलगाएको मात्रै के भनेका थिए, उप–सचिव ढुङगानाले उनको झाको झारिहाले । र, भने सरकारी कर्मचारीले फिल्ड जादा पोशाक लगाउनु नपर्ने कहाँ लेखेको छ ? त्यसो भए म पनि अहिले फिल्डकै काममा छु के मैले पनि पोशाक नलगाएर अनुगमन गरु ? उनले त्यति के भनेका थिए, ओझा अक्क न बक्क भए । दिनभरजसो सरकारी कार्यालयमा पत्रकारहरुसँगै अनुगमनमा हिडेका उनले हरेक कार्यालयका कर्मचारीलाई निजामति कर्मचारीले पालना गर्नु पर्ने आचारण मात्रै सुनाएनन् धेरै कर्मचारीलाई जनताको काममा सहज र सर्तक हुन सुझाव समेत दिए । सामान्यतया सरकारी अनुगमन गर्ने तरिका कर्मकाण्डिय र फितलो हुने गरेको व्यापक गुनासो सुनिने गरेका बेला सतर्कता केन्द्रका उप सचिवको यो अनुगमन गर्ने शैलीले यहाँ कर्मचारीको चेत खुलेको जस्तो देखिन्थ्यो ।
राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालयले मंगलबार सुर्खेतका सरकारी कार्यालयमा गरेको आकस्मिक अनुगमनमा २० कार्यालयका ४१ जना कर्मचारी अनुपस्थित भेटिए । अधिकाशं क्षेत्रीय कार्यालयका प्रमुखहरुहरु कार्यालयमा अनुपस्थित थिए । क्षेत्रीय कार्यालयमा मात्र होइन दैनिक जसो सेवाग्राहीको अत्याधिक चाप हुने जिल्लाका अन्य सरकारी कार्यालयका त प्रमुख र अधिकृतहरु नै उपस्थित नभएको पाइयो । कार्यालयमा उपस्थित भएका कर्मचारीहरुले पनि कतिले कार्यालय समय पालना नगरेको, तोकिएको पोशाक नलगाएको, हाजिरी खाता अनियमित देखिएको तथ्य पनि सार्वजनिक भएको छ । काज स्वीकृत नगराई काजमा जाने, कार्यालयको काम भनेर बाहिर जाने तर निजी काम र मोजमस्तीमा पनि रमाउने कर्मचारी भेटिने गरेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका उप–सचिव शेरबहादुर ढुङगानाले अनुगमनका क्रममा सरकारी कार्यालयका कर्मचारीले चरम लापरबाहि गरेको पाइएको बताए । उप–सचिव ढुङगानाले भने–‘यसले कर्मचारीमा बढ्दो मनोमानी र गैरजिम्मेवारी प्रष्ट भएको छ ।’ उनले थपे–‘सरकारी कर्मचारीले दिने सेवाको प्रभावकारिता पनि छर्लङ्ग भएको छ । यो नियतको भ्रष्टाचार हो ।’ कतिपय कार्यालय प्रमुखहरु महिनामा २० दिनसम्म काज बस्ने गरेको पनि पाइएको छ । सरकारी नियम अनुसार एक दिन काज बस्दा कर्मचारीले तह अनुसार २ हजारदेखि १२ सय रुपैयाँसम्म भत्ता पाउने भएकाले पनि अनावश्यक काजमा बस्ने गरेको स्वयम कर्मचारीहरु नै बताउँछन् । यसरी काजको दुरुपयोग गरि सरकारी कानुनको धज्जी उडाउँने कर्मचारी खरिदारदेखि उप–सचिवसम्मका छन् ।
‘काजमा बस्दा कुन ठाउँ कति दिनसम्म र के काममा गएको हो प्रष्ट खुलाउनु पर्ने सरकारी प्रावधान भएपनि काजमा जादा त्यस्तो कुनै कुरा खुलाउने गरेको पाइएन यसो गर्न नियमले दिदैन’ उप सचिव ढुङगानाले भने । सरकारी कार्यालयका कुनै पनि कागजमा टिपेक्स लगाउने नपाइने भएपनि अधिकांशले टिपेक्स लगाएर हाजिर मिलाउने गरेको पाइएको पनि उनले बताए । कार्यालय समयमा अनुपस्थित हुने र तोकिएको पोशाक नलगाउने कर्मचारीलाई कारबाहिका लागि माथिल्लो निकायमा पत्राचार गर्ने उनले बताए । कर्मचारीले आफ्नो कर्तव्यबोधका साथ नागरिकले तिरेको करबाट तलब लिएर सेवामा खटिएको जिम्मेवारी इमान्दार भएर निर्वाह गर्नु पर्ने उप–सचिव ढुङगानाले बताए ।

0 comments:

Post a Comment