डिलप्रसाद शर्मा
सुर्खेत, १८ पौष ।

नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले केपी ओली नेतृत्वको सरकारले जनतालाई राहत प्रदान गर्ने कोशिस गरिरहेकाले आफू तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको बताएकी छन् । केहि शिर्ष नेताहरुले सरकारले काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरे पनि आफू भने तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको उनले बताइन् । नयाँ संविधान जारी भएयता तराई मधेशमा चलिरहेको आन्दोलन र नाकाबन्दीका कारण देश अब्ठ्यारो पस्थितीमा भएका बेला वर्तमान सरकारलाई काम गर्न समस्या भएको भन्दै उनले अहिले नै सरकारको विकल्प खोज्न आवश्यक नभएको बताइन् । आफ्नो पार्टी सरकारमा सहभागि नभपनि वर्तमान सरकारलाई काँग्रेसले सहयोग गरिरहेको उनले बताइन् । पार्टीहरु बिचको मेलमिलाप र एकता तोड्ने र नेपाली नेताहरुलाई लडाउने ग्राइन्डीजाईन भइरहेको भन्दै नेतृ कोइरालाले नेपाली नेताहरु सचेत हुनुपर्ने बताइन् । उनले भनिन्–‘अहिले सरकार ढाल्ने खेलमा लाग्नु भन्दा पनि मेलमिलाप र सहकार्यबाट मुलुका समस्या समाधानमा लाग्नु पर्छ ।’ नाकाबन्दी र भुकम्पका कारण संकटमा फसेको मुलुकलाई उकास्नका लागि सबै दलहरुबीच एकता र सहकार्य हुनुपर्ने उनको भनाइ थियो । नेपाल प्रेस युनियन सुर्खेतले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले अब काँग्रेसको नेतृत्व युवा पुस्तामा जाने बताइन् । ‘अब कांग्रेसको नेतृत्व आउँदो १३ औं महाधिवेशनबाट युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’ कोइरालाले भनिन् । उनले आफू पनि नेतृत्वको स्वभाविक आकांक्षि भएको बताइन् । तपाईले सभापतिमा उम्मेदवारी दिने हो ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले आफू उम्मेदवारी दिने तयारीमा रहेको बताइन् । नेता कार्यकर्ताहरुबाट सभापतिका लागि उम्मेदवारी दिन दवाब आएको भन्दै उनले आफूले कार्यकर्ताको भावना अनुसार नै निर्णय गर्ने बताइन् । ६०–४० भागवण्डाको आधारमा नेतृत्व छनौट गर्ने परिपाटीका कारण काँग्रेस गतिशील हुन नसकेको नेतृ कोइरालाले दाबी गरिन् । उनले पाटीहरुमा गुटहरु हुनु स्वभाविक भएपनि बिचारहरु नै फरक–फरक भएका कारण काँगेसमा समस्या भएको बताइन् । उनले अबको महाधिवेशनबाट काँग्रेसको नेतृत्व युवा पुस्तामा जाने र त्यसले पार्टीलाई मजबुत बनाउने विश्वास समेत व्यक्त गरिन् । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम सांसद समेत रहेकी नेतृ कोइराला पार्टीको काममा दैलेख जाने क्रममा शनिबार वीरेन्द्रनगर आएकी थिइन् ।
0 comments:
Post a Comment