Search This Blog

Dec 19, 2015

बालिका बिहे गर्ने बेहुलासहित तीनजना पक्राउ

ललितबहादुर बुढा,   सुर्खेत,
सुर्खेत बालिका बिहे गरेको आरोपमा प्रहरीले सुर्खेतमा बेहुलासहित तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला बाल कल्याण समितिले उजुरी दिएपछि प्रहरीले बेहुला तेजबहादुर सुनार, उनकी आमा सरस्वती सुनार र बालिकाकी सानीआमा गीता जोशीलाई पक्राउ गरेको हो ।
बेहुलाका बावु लिलाराम सुनार भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाई छ । मंसिर २८ गते विवाह भएपनि प्रहरीले उनीहरुलाई बुधवार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उक्त विवाहका लागि अभिभावकको मञ्जुरी भए पनि केटीको उमेर १५ वर्ष मात्र भएकाले आफूहरुले प्रहरीमा उजुरी दिएको जिल्ला बाल कल्याण समितिले जनाएको छ ।
जिल्ला बाल अधिकार अधिकृत रमा भण्डारीले केटीको विवाह गर्ने उमेर नपुगेको र विवाहका लागि अभिभावकहरु समेत संलग्न रहेकाले उनीहरुविरुद्ध उजुरी दिएको बताईन् ।
कानुन् अनुसार केटा र केटीको विवाह गर्ने उमेर २० वर्ष पुगेको हुनुपर्दछ । तर अभिभावकहरुको मञ्जुरी भएमा भने १८ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । बेहुला तेजबहादुरको उमेर १९ वर्ष पुगको भएपनि केटीको उमेर नपुगेकाले उनीहरुलाई बालविवाह गरेको आरोपमा पक्राउ गर्न लगाइएको भण्डारीले बताईन् ।
बाल कल्याण समितिले उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेको छ । यस्तै अदालतबाट समेत म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
बुढा, पत्रकार महासंघ शाखाका सचिव हुन् ।

0 comments:

Post a Comment