ठमेलमा न्यू इयर इभ सुरू हुँदै, १८ वर्ष मुनिकालाई निषेध

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले पर्यटकीय क्षेत्र ठमेलमा न्यु इयर इभ मनाउने भव्य तयारी गरेको छ। बेलुकी साढे ५ बजे परिषद्ले साँस्कृतिक कार्यक्रमको औपचारिक उद्घाटन समारोहको आयोजना गर्दैछ । नेपाली कांग्रेसका नेतासमेत रहेका युवा सांसद गगन थापाले कार्यक्रमको औपचारिक उद्घाटन गर्ने परिषद्का अध्यक्ष रामशरण थपलियाले बताए।
थापाले उद्घाटन गर्ने औपचारिक कार्यक्रम १ घण्टा चल्ने अध्यक्ष थपलियाले जानकारी दिए। त्यसपछि विभिन्न समुदायका संस्कृति झल्किने मौलिक नेपाली साँस्कृतिक झलकहरू प्रदर्शन गरिने उनले बताए। करिब साढे २ घण्टासम्म चल्ने उक्त शो पछि राती साढे १२ बजेसम्म डिजेले प्रस्तुति दिने उनले जानकारी दिए। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन दिँदै अंग्रेजी नयाँ वर्षलाई स्वागत गरिसकेपछि ठमेलको व्यापार रातभर चल्ने र बिहान ४ बजेसम्म ठमेल खुल्ला रहने उनले बताए । औपचारिक उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा जो कोही सहभागी हुन सक्ने भए पनि बार तथा रेष्टुरेन्टमा १८ वर्ष मुनिका व्यक्तिलाई प्रवेश निषेध गरिएको उनले जानकारी दिए। ु१८ वर्ष मुनिकालाई बारमा निषेध गरेका छौं,ु अध्यक्ष थपलियाले भने, ुसुरक्षाका लागि साढे ४ सय प्रहरीको प्रबन्ध सरकारले मिलाएको छ।ु त्यस्तै नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रमलाई भव्य बनाउन र पर्यटकलाई खुसी तुल्याउन ठमेल क्षेत्रमा बिहीबार राती विद्युत् कटौती नगर्ने लिखित पत्र पनि परिषद्लाई विद्युत् प्राधिकरणले दिएको उनले जानकारी दिए। परिषद्ले रात्री व्यवसायीहरुको सक्रियतामा ठमेललाई चौविसै घण्टा खुला राख्ने गरी तयारी गरिरहेको जानकारी पनि दिए।
0 comments:
Post a Comment