ईश्वरराज अधिकारी
समाचार टिप्पणी
सुर्खेत, २४ माघ ।
यसपटक सुर्खेत काँग्रेसको नेतृत्व हात पार्नका लागि थुप्रै आकांक्षीहरु देखिए पनि अन्ततःजिल्ला सभापतिमा दुई जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला सभापतिको आंकाक्षीका रुपमा अहिले दुई जना क्षेत्रीय सभापति क्रमशः कमलराज रेग्मी र यज्ञबहादुर वीसी चुनावी मैदानमा उत्रने सम्भावना देखिएको छ ।
बाहिर ‘जय नेपाल’ भन्दै आत्मियता झल्काए जस्तो गरेपनि काँग्रेसीभित्र साठी चालीस भनिने) विभाजित गुटबीच प्रतिष्ठाको लडाई पक्कै छ । भित्र भित्र भुसको आगोजस्तै सल्किदैं गएको आपसी प्रतिष्पर्धा र प्रतिद्धन्द्धताको झल्को यसपाली १३ औं महाधिवेशन अन्तर्गत जिल्लामा भएका वडा, नगर र क्षेत्रीय अधिवेशनमा पनि देखिए । सुर्खेतका तीन वटा निर्वाचन क्षेत्रमा को कति बलियो छ भन्ने विश्लेषण गर्न यतिबेला ठूलै विद्धान वा विश्लेषक हुनुपर्ने आवश्यकता छैन । सजिलै भन्न सकिन्छ यो, त्यो, हलानो र फलानो भनेर । त्यसैलेपनि हालसम्म भएका निर्वाचनबाट चुनिएर आएका प्रतिनिधिका टाउका गनेर अनि अनुहार हेरेरै भन्न सकिन्छ कि यसपाली पार्टीको जिल्ला नेतृत्व कसको पोल्टामा जाँदैछ भनेर ।
रेग्मी बलिया उम्मेदवार
क्षेत्र नम्बर २ का निवर्तमान सभापति कमलराज रेग्मीलाई सभापतिको बलियो उम्मेदवारको रूपमा हेरिएको छ । रेग्मी संस्थापन पक्ष र त्यसमा पनि जिल्ला राजनीतिमा संस्थापन पक्षको नेतृत्व गर्ने सांसद हृदयराम थानीको सबैभन्दा नजिकको विश्वास पात्र मानिन्छन् । अहिलेलाई सभापति पदका उम्मेदवार भनिएका दुईजनामध्ये रेग्मी स्वभाविक रुपमा क्षेत्र नम्बर २ का सांसद हृदयराम थानीका विश्वासपात्र हुन । तर उनको परिचय यत्तिमै सीमित भने छैन । क्षेत्रीय सभापति हुँदा आप्mनो क्षेत्रमा संगठन विस्तार अनि सुदृढ गर्न दिनरात खटिने व्यक्तिपनि हुन रेग्मी । कार्यकर्ता माझ स्पष्ट वक्ता र आँटे चाहेको काम तुरुन्त गर्ने गराउने खरो स्वभावका रेग्मीले हालसम्म पार्टी संगठन र कार्यकर्ताको लागि गरेको मिहिनेतको असली परीक्षणपनि आज हुनेछ । थानीको विश्वासिलो पात्र मात्र भनेर कोहिकसैले व्यक्तिगत रुपमा तुष पोख्ने बाहेक राजनीतिक रुपमा खोट लगाउनुपर्ने ठाउँ रेग्मीले छाडेका छैनन । वर्तमान पार्टी सभापति तप्तबहादुर विष्टले समेत रेग्मीलाई साथ दिने बताएकाले रेग्मीलाई यसपाली जिल्ला सभापतिको बलियो उम्मेदवारको रूपमा हेरिएको हो ।
क्षेत्र नम्बर ३ निर्णायक
अंक गणितीय आधारमा भन्ने हो भने पनि क्षेत्र नम्बर १ र २ को प्रतिष्पर्धामा निर्णायक भनेको क्षेत्र नम्बर ३ नै हो । क्षेत्र नम्बर ३ बाट आउने प्रतिनिधिले जिल्लाको आगामी नेतृत्व कसको काँधमा दिने भन्ने कुराको निक्र्यौल गर्नेछन् । क्षेत्र नम्बर ३ बाटै संविधानसभाको चुनाव जितेका पार्टी सभापति तप्तबहादुर विष्टबाट निर्देशित हुने मत नै जिल्लाको निर्णायक मत हो भन्नलाई अबपनि कुनै आइतबार कुर्नु पर्दैन । पार्टीको सभापति र सांसदसमेत रहिसकेका व्यक्तिले निवर्तमान क्षेत्रीय सभापति कमलराज रेग्मी नै संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएको भन्दै उनलाई नै जिताउने घोषणा गर्नुलाई महत्वपूर्ण चुनावी रणनीतिका रुपमा लिनुपर्ने हुन्छ । यसबाट संस्थापन पक्ष थप बलियो र उत्साहित बनेको सजिलै बुझन सकिन्छ ।
आप्mनो क्षेत्रबाट अर्को कुनै बलियो उम्मेदवार नपाएको खण्डमा क्षेत्र नम्बर १ ले वीसीप्रति गुटगतभन्दा पनि व्यक्तिगत सहानुभूति राख्न सक्ने सम्भावना बढेर गएको छ । तर, १ नम्बरको रणनीति भने कम्तिमा अहिलेलाई आप्mनो लाइनका आधिकारिक उम्मेदवारलाई जिल्लाको सचिवसम्म जिताउनेमै बढि केन्द्रीत हुनसक्छ । उता लामो समय क्षेत्रीयस्तरको राजनीति गरेपनि वीसीले भने सम्भवतः सभापति विष्टबाहेक अरु कुनै नेता विशेषकोे विश्वास पात्र बन्ने अवस्था सिर्जना गरिसकेका भने छैनन । विष्ट र वीसी दुबैको क्षेत्र एउटै भएकाले दुबैबीच व्यक्तिगत सामिप्यता देखिएपनि राजनीतिकस्तरको सामिप्यता बाहिरबाट हेर्दा त्यति गहिरो देखिंदैन । क्षेत्र नं. १ बाट बलियो उम्मेदवार नभए त्यतापट्टिको भोट आपूmतिर आकर्षित गर्नसक्ने अनुमान, विश्वास या आश्वासनका साथ वीसी सभापति बन्न कस्सिएको आँकलन गर्न सकिन्छ । यी सबै चलखेलभित्र वीसी प्रति हालसम्मका सभापति विष्टको सहानुभूति वा समर्थन कति रहन्छ त्यो भने चुनावी परिणामले अवश्यपनि देखाउने नै छ ।
सुर्खेतमा यसपटक देउवा पक्षको केही सुधार देखिए पनि बहुमत संस्थापनमै रहेको दाबी संस्थापन पक्षको छ, र त्यो स्पष्टै देखिएको पनि छ । यति हुँदा हुँदै पनि संस्थापन पक्षमा पार्टी सभापतिका लागि एउटा मात्रै उम्मेदवार बनेको भए संस्थापन पक्ष थप बलियो र जीत सुनिश्चित हुन्थ्यो । तर, भैदियो के भने विसीले समेत जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि संस्थापन पक्षलाई चुनौती भने अवश्यै थपिएको छ । क्षेत्र नम्बर ३ का सांसद तप्तबहादुर विष्टले जिल्ला सभापतिमा कमलराज रेग्मीको विकल्प नभएको प्रतिक्रिया दिएका बेला विसीले उम्मेदवारी घोषणा गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । संस्थापन पक्षमा पदाधिकारीका आकांक्षीहरु धेरै हुँदा आकांक्षीको व्यवस्थापन गर्नु अर्को चुनौती छ ।
गाउँ तथा नगर अधिवेशन हुनु अघिदेखि नै जिल्ला नेतृत्वका लागि चर्चा चल्न शुरु भएको थियो । गाउँ तथा नगर अधिवेशनमै आफ्नो बर्चश्व कायम गर्न गुटगत अभ्यास गरेको सुर्खेत काँग्रेसमा जिल्ला अधिवेशनमा पनि दुई वटा खेमा हुनु स्वभाविक कै हो । यतिबेला दुवै पक्ष जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्ने कसरतमा होमिए पनि ३ वटै क्षेत्रको परिणाम हेर्दा संस्थापन पक्षले जिल्ला नेतृत्व लिने लगभग निश्चित जस्तै छ । स्रोतका अनुसार अन्तिम चरणसम्म पनि यहि अवस्था रहे रेग्मी नै सभापति हुने पक्का छ । तरपनि चुनाव हो । भोट क्रस या अन्य कुनै किसिमको प्रभाव, दबाव र घातको भूमिका पनि उत्तिकै रहने सम्भावनालाई इन्कार गर्न सकिदैंन । यस्तो चलखेलले दुई चार मत दाँया बाँया त होला तर सिंगो परिणामलाई नै व्यापक उथुल पुथल गर्नसक्ने सम्भावना भने अहिलेसम्म देखिएको छैन । वडादेखि क्षेत्रसम्मको चुनावबाट चयन भएका प्रतिनिधिहरुको आँकडा केलाउने हो भने सुर्खेतमा संस्थापन भनिने पक्षकै बर्चश्व धेरै देख्न सकिन्छ । त्यसैले पनि मतदाताका नामका अगाडि पछाडि रेजा लगाउने क्रमले तीब्रता अवश्य पाएको हुनुपर्छ, जुन क्रमले चुनावी मत परिणाम आइसकेपछि पनि निरन्तरता अवश्य पाउनेछ, कसको मत कसलाई गयो र कसले कसलाई क्रस गर्यो भने विश्लेषण गर्नका लागि पनि ।
धेरैको ध्यान र नजर केन्द्रीत भएको जिल्लाको चुनाव आज हुँदैछ । जसले पार्टीको जिल्ला सभापति र सचिवजस्तो महत्वपूर्ण पदको छिनोफानो गर्नेछ । उमेरकै हिसावले भन्ने हो भनेपनि संस्थापन पक्षका सभापति र सचिव पदका उम्मेदवारका रुपमा चर्चामा ल्याइएका दुबै जना देउवा पक्षका प्रतिष्पर्धीभन्दा कान्छा र युवा त हुन, तर राजनीतिक रुपले पाका र खारिएका पनि छन् । सुर्खेत काँग्रेसको गाउँ, नगर र क्षेत्रीय अधिवेशनमा यसपटक युवा वर्गलाई उचित स्थान दिइएको छ । युवाहरुलाई नेतृत्वमा स्थान नदिएको आरोप खेप्दै आएको काँग्रेसमा योपटक स्थानीय प्रतिनिधिमा उल्लेख्य संख्यामा युवाहरु चुनिएका छन् । गाउँ, नगर तथा क्षेत्रबाट आएका युवा पंक्तिको प्रभाव बलियो देखिए पनि आज हुने जिल्ला अधिवेशनमा युवाले कत्तिको ठाउँ पाउँछन् यो भने चासोको विषय बनेको छ ।
यसैगरी, सचिव पदका आंकाक्षीमध्ये नारायण सापकोटा अघिल्लो निर्वाचनमा सचिव पदमा पराजित भएका हुन भने लामो समय विद्यार्थी राजनीतिको अनुभव संगालेका टोपबहादुर रावत पहिलो पटक पार्टीको पदाधिकारी पदका लागि चुनावी मैदानमा उत्रन लागेका हुन । कोषाध्यक्षका लागि भने क्षेत्र नम्बर १ का अन्न्तप्रसाद पौडेलले उम्मेदवारी दिने उनी निकट स्रोतले जनाएको छ । पौडेल सस्थापन पक्षका हुन् । सुर्खेत काँग्रेसको राजनीतिलाई देउवा पक्षको अगुवाई गर्ने पूर्णबहादुर खड्का र संस्थापन पक्षको अगुवाई गर्ने हृदयराम थानीबीचको प्रतिस्पर्धाको रूपमा पनि हेरिदै आएको छ ।
साढे ११ बजेदेखि मतदान हुने
नेपाली काँग्रेस सुर्खेतको नया नेतृत्वको लागि आज निर्वाचन हुने भएको छ । १३ औ महाधिवेसन अन्र्तगत जिल्ला कार्य समितिको नयाँ नेतृत्वको लागि आज विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया शुरु हुने वताइएको छ । निर्वाचन समितिका अनुसार विहान ८ बजे नामावली माथी दावी विरोधको समय तालिका तोकिएको छ । ८ देखि साढे ८ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, ८ः४० बजे उमेदवारको नामावली प्रकाशसन, पौने ९ देखि ९ बजेसम्म दावी विरोधको समय तोकिएको छ । यस्तै विहान ९ बजेदेखि साडे ९ बजेसम्म उम्मेदवारी फिर्ता र पौने १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशसन गर्ने कार्य तालिका रहेको सहायक निर्वाचन अधिकृत दुर्गा सापकोटाले जानकारी दिए । उनले आज साढे ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मत गणना शुरु हुने बताए । सुर्खेतको क्षेत्र नम्बर १ मा २ सय ४३, क्षेत्र नम्बर २ मा २ सय ३१ र क्षेत्र नम्बर ३ मा २ सय ९ जना गरी जम्मा ६ सय ८१ जना मतदाता रहेको बताइएको छ ।
0 comments:
Post a Comment