Search This Blog

Feb 5, 2016

बाढीपीडित महिलाको चित्कार ‘अब यसरी बाँचिँदैन’


ललितबहादुर बुढा
हरिहरपुरकी गंगा बुढा हिजोआज पटकपटक तर्सिन्छिन् । आकाशबाट सामान्य पानी पर्दा होस् वा हावाहुरी चल्दा उनलाई डर लाग्छ । उनले गएको साउनमा अविरल वर्षासँगै भेरी नदीमा आएको उर्लंदो बाढीमा बल्लतल्ल आफ्नो ज्यान जोगाएकी थिइन् । बाढीमा ज्यान जोगाउन सफल भए पनि गिरिघाटस्थित विस्थापित शिविरमा बस्दै आएकी गंगालाई अहिलेचाहिँ ज्यान जोगाउन मुस्किल भइरहेको छ ।
१० महिनादेखि त्रिपालमुनि रात काट्दै आएकी गंगा दुई महिनाअघि मात्रै जङ्गलमा रहेको शिविरमै सुत्केरी भएपछि उनको बिचल्ली सुरु भएको हो ।
वर्षौंदेखि दुःख गरेर जोडेको घरखेत एकै रातमा बाढीले बगर बनाइदियो । सँगै घाँसदाउरा गर्दै आएका गाउँका छिमेकी आँखैअगाडि बाढीमा बगे । पूरा गाउँ नै एकाएक हरायो । बाँच्ने कुनै आधार नभएपछि अस्थायी शिविरमा शरण लिन पुगेकी गंगा हिजोआज बिहान र बेलुकी के खाने भन्ने समस्यामा छिन् । सरकारी तथा गैरसरकारी निकायले राहत उपलब्ध गराउन छाडेको पनि महिनौँ भइसक्यो । शिविरका अन्य विस्थापितले मजदुरी गरेर छाक टार्ने गरे पनि साथमा दुई महिनाको बच्चा भएकाले गंगालाई काम गर्न समस्या छ । खानाको समस्या, मजदुरीका लागि श्रीमान् विदेश गएकाले त्रिपालको एक्लो र असुरक्षित बसाइ, बच्चा बिरामी हुँदा उपचार गर्ने पैसाको अभाव र बीचजङ्गलमा टाँगिएको त्रिपालमा रात काट्नुपर्ने बाध्यताका कारण यतिबेला उनी आफ्नो जीवनलाई नै बोझ मान्न थालेकी छिन् ।
3
लेखपराजुलको शनिमोहर विस्थापित शिविरमा बस्दै आएकी पुष्पा रामजालीले केही समय पहिला शिविरमै बच्चा जन्माइन् । वर्षा सुरु भएपछि लामखुट्टे र सर्पबाट जोगिन उनलाई हम्मेहम्मे नै भएको छ । सुत्केरी अवस्थामा त्रिपालमा बस्नुपर्ने बाध्यताले उनलाई काखमा रहेको सन्तान कसरी हुर्काउने भन्ने चिन्ता छ । पुष्पा भन्छिन्, ‘त्रिपालमा रात काट्नुपरेको छ, ओढ्ने र लगाउने राम्रो कपडा पनि छैन । बिहान–बेलुकी खानलाई समस्या छ, अब पोषिलो खाने कुरा कहाँबाट पाउनु ?’
गिरिघाट शिविरमा बस्दै आएकी ४९ वर्षीया डिलसरा विष्टले आफ्नो पीडा सहन नसकेर आँसु झार्दै भनिन्, ‘शरीर कमजोर भयो, काम गर्न सक्ने अवस्था छैन । कसैले राहत पनि दिँदैनन्, अब ११ जनाको परिवार कसरी पाल्ने होला ?’ उनले रातको समयमा महिला शिविरमा असुरक्षित हुने गरेको बताइन् । विस्थापित शिविरमा बस्दै आएकी लेखपराजुलकी पवित्रा विकको पीडा पनि उस्तै छ । शिविरमै सुत्केरी भएकी उनको ज्यान राम्रोसँग तङ्ग्रिन पाएको छैन । सुत्केरी भएको बेलामा खाना र बस्नको ठेगान नभएकाले उनको शरीर कमजोर बन्दै गएको छ ।
गंगा, पुष्पा, डिलसरा र पवित्रा मात्रै होइन, जिल्लाका सबै शिविरमा रहेका महिलाको अवस्था दयनीय छ । गर्मी मौसम र वर्षात्को समयमा सानो त्रिपालमुनि परिवारका सबै सदस्य कोचिएर बस्नुपर्दाको पीडा महिलामाथि झन् धेरै छ । बाढीका कारण विस्थापित भएर अस्थायी शिविरमा बस्न थालेदेखि नै महिलाले विभिन्न समस्या झेल्नु परिरहेको छ । सासू–ससुरा, छोरा–बुहारी र जेठाजु एउटै त्रिपालमुनि कोचिएर सुत्नुपर्ने बाध्यताले आफूहरूलाई अति नै असजिलो हुने गरेको गिरिघाट शिविरकी सन्तकला नेपालीले बताइन् ।
काखमा नौ महिनाको छोरा राखेर शिविरनजिकै गिटी कुट्दै गरेकी उनले भनिन्, ‘पुरुषलाई त खासै समस्या छैन, तर सुत्केरी र महिनावारी भएको बेलामा महिलालाई निकै समस्या छ । हामीलाई त गोपनीयता कायम राख्न पनि मुस्किल हुन थाल्यो, कहिलेसम्म यसरी तनावमा बाँच्ने ?’ किनेर खानुपर्ने समस्याका कारण ऋण बढ्दै गएको भन्दै उनले अब धेरै दिन यही हालतमा शिविरमा बाँच्न नसक्ने बताइन् । सरकारले राहत दिन छोडेपछि अहिले शिविरमा बस्दै आएका सुत्केरी तथा गर्भवती महिलासमेत गिटी कुटेर छाक टार्न बाध्य छन् ।
5
सरकारले पुनस्र्थापनामा गरेको ढिलाइका कारण जिल्लाका विभिन्न अस्थायी शिविरमा पाल टाँगेर बस्दै आएका महिलाको यतिबेला विजोग नै भएको छ । बाढीपहिरोले दिएको पीडा, लामो समयसम्म पनि पुनस्र्थापना नहुनु, शिविरमा खानाको समस्या र प्रायः पुरुष रोजगारीका लागि मुग्लान पसेपछि त्रिपालमा रहेका परिवारका सदस्य र बालबालिकाको रेखदेख तथा पालनपोषणको जिम्मेवारी महिलाको काँधमा आएको छ ।
बाढीपीडित महिलामा अब मानसिक समस्यासमेत देखिन थालेको छ । बाढीपीडित जिल्ला सङ्घर्ष समितिका सचिव बलबहादुर थापा लामो समयसम्म शिविरमै बस्नुपरेका कारण महिला रातको समयमा बर्बराउने, एक्लै बसेर टोलाउने, निराश भएर रुने, आकाशमा बादल लाग्नेबित्तिकै तर्सने र डराउन थालेको बताउँछन् । लामो समयसम्म पनि घरवासको व्यवस्था नहुँदा शिविरमा बस्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई आराम तथा पोषिलो खानाको जरुरी भए पनि बाढीपीडित महिला भने भोकै बस्न बाध्य छन् ।
4

कतिपय सुत्केरी काखमा नाबालकलाई लिएर मजदुरीका लागि भौँतारिरहेका छन् भने गर्भवती महिलाले पनि राम्रो स्याहार पाउन सकेका छैनन् । विस्थापित भएको एक वर्ष पुग्न लाग्दासमेत सरकार बाढीपीडितको पुनस्र्थापनामा गम्भीर नहुँदा त्रिपालको बसाइ महिलाका लागि बढी कष्टकर भएको सचिव थापाको भनाइ छ । थापा भन्छन्, ‘वर्षा हुन थाल्नुअघि नै पुनस्र्थापना नभए आमा र बच्चालाई जोगाउन कठिन हुन्छ ।’
(सञ्चारिका फिचर सेवाबाट)(ललित, सुर्खेतबाट पत्रकारिता गर्छन् ।)
महिला खबर अनलाईन बाट साभार गरिएको हो । 

0 comments:

Post a Comment