क्षेत्र नम्बर २ मा सभापतिका उम्मेदवार कोइराला र राना
सुर्खेत, २१ पुस ।
मुलुककै पुरानो र ठूलो दल नेपाली काँग्रेस यतिबेला पार्टीको १३ औं महाधिवेशनमा होमिएको छ । पुरानै नीति र बिधि अनुसार नया नेतृत्व छान्ने प्रकृयामा रहेको काँग्रेसले महाधिवेशनको पहिलो खुड्किलोका रुपमा लिइने गाउँ तथा नगरस्तरको अधिवेशन सम्पन्न गरी सकेको छ । गाँउ र नगरको चुनाबबाट चुनिएका पदाधिकारी र क्षेत्रीय प्रतिनिधी अहिले क्षेत्रीय अधिवेसनको तयारीमा छन् । देशैभर एकसाथ चलिरहेको यही प्रकृया अनुसार सुर्खेतमा पनि काँग्रेसका नेता कार्यकर्ता चुनाबी माहोलमा देखिएका छन् ।
सुर्खेत काँग्रेसको क्षेत्रीय अधिवेशन आज हुँदैछ । तीन वटा निर्वाचन क्षेत्रमा हुने अधिवेशनले काँग्रेसको नयाँ क्षेत्रीय कार्य समिति चयन गर्ने छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार आज विहान ८ बजे मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । अधिवेशनबाट सभापति, सचिव र कोषाध्यक्ष साथै ९ जना सदस्य गरी जम्मा १२ जना पदाधिकारी चयन गरिने छ । उक्त अधिवेशका लागि क्षेत्र नम्बर १ मा अधिवक्ता विवश वस्नेत, २ का लागि पित्ताम्वर ढकाल र ३ का लागी अम्मर रोकायलाई निर्वाचन अधिकृत खटाइएको छ । अधिवेशनमा क्षेत्र नम्बर १ बाट २ सय ४३ जना , २ बाट २ सय ३१ जना र क्षेत्र नम्बर ३ बाट २ सय ७ जना गरी जम्मा ६ सय ८१ जना मतदाताले भाग लिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार क्षेत्र नम्बर १ का लागि मेहलकुना, क्षेत्र नम्बर २ का लागि कर्मचारी मिलन केन्द्र वीरेन्द्रनगर र क्षेत्र नम्बर ३ का लागि वावियाचौरमा निर्वाचन स्थल तोकिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार ८ वजे मतदाता नामावली प्रकाशन, सवा ८ वजेसम्म नामावली उपर दावी विरोध र ८ः२० बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिने छ । यस्तै, साढे ८ वजेसम्म उम्मेदवारको मनोनयन दर्ता, ८ः४० वजेदेखी १० वजेसम्म उम्मेदवारको नामावली उपर दावी विरोध, ११ वजेसम्म उम्मेदवारी फिर्ता, सवा ११ वजे अन्तिम नामावली प्रकाशन र १ वजेदेखी ४ वजेसम्म मतदान कार्यक्रम गरिने छ । क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नारायणकुमार कोइराला र कर्ण रानाले उम्मेदवारी दिने बताएका छन् । क्षेत्र नम्बर १ र ३ को सभापतिको उम्मेदवारको टुङ्गो विहीबार साझँसम्म लागि सकेको थिएन ।
0 comments:
Post a Comment