Search This Blog

Feb 26, 2016

५० वर्षअघिको नेपाल (फोटो फिचर)

- बिल ह्यान्सन, काठमाडौं
फाल्गुन १५, २०७२- म त्यतिबेला पढ्दै थिएँ । एक दिन कक्षामा बाहिरबाट कसैले आएर पिसकर्पका बारे बतायो । म कतै अलि टाढाको दुनियाँमा, नयाँ भाषा भएको ठाउँमा जान चाहन्थें । पिस कर्प भएको ठाउँहरूको नाम हेरेपछि मैले नेपाल छानें । त्यो बेला नेपाल नै किन छानें भन्ने ठोस कारणचाहिँ छैन ।


त्यसपछि म पुस्तकालयमा गएँ र भारतको नक्सा दिनु भनें । पुस्तकालय कि महिलाले मलाई नेपाल भनेको छुट्टै देश हो, भारत होइन भन्ने बताइन् र नक्सा दिइन् ।



सन् १९६५ मा पहिलोपटक नेपाल आएँ । काठमाडौंमा केही समय पिसपर्क स्वयंसेवकको तालिम लिएपछि तनहुँ जिल्ला पञ्चायतमा ‘कम्युनिटी डेभलपमेन्ट भोलेन्टियर’ का रूपमा काम गर्न खटिएँ । ६७ सम्म दुई वर्ष नेपाल बस्दा म नेपालका केही ठाउँ घुमें । काठमाडौं, पोखरादेखि धनकुटा, ओखलढुंगादेखि नाम्चेसम्म पुगें । पदयात्राहरू निकै गरिए । धेरै ठाउँमा बाटो थिएन, त्यसैले पनि पैदल नै हिँडिन्थ्यो ।

मलाई मेरो बुबाले कोडाकको एउटा क्यामेरा दिनुभएको थियो । म त्यही क्यामेरा लिएर नेपाल आएको थिएँ । अहिलेको जस्तो डिजिटल क्यामेरा थिएन, रिल चाहिन्थ्यो । त्यसैले जोगाएर फोटो खिच्नुपथ्र्यो । मेरो सोख भएकाले फोटो खिच्दै हिँड्थें । यी तस्बिरहरू पछि स्लाइडमा उतारेकाले अहिलेसम्म सुरक्षित भए ।


सनोसोले दाँत निकाल्दा


एकपटक ओखलढुंगाबाट नाम्चे जाँदा हाम्रो साथमा भरिया थिए । उनको नाम मैले बिर्सिएँ । बाटोमा उनको दाँत दुख्यो । निकै दुख्यो भनेपछि एउटा बस्तीमा हामीले भारी बिसायौं । गाउँकै एकजनाले सनासोले उनको दुखेको दाँत निकाल्दिए ।

दाँत निकालेपछि उनले अलिकति रक्सी खाए र भारी बोकेर हिँडे । सानासोले दाँत निकालेको फोटो मैले खिचेको थिएँ । केहीअघि पाटनमा भएको फोटो प्रदर्शनीमा पनि यो फोटो दिएको थिएँ ।
बन्दिपुरको सम्झना
म दुई वर्ष तनहुँमा बसें । त्यो बेला बन्दिपुर सदरमुकाम थियो पछि दमौली सर्‍यो । बन्दिपुर त्यो बेलाको ठूलो केन्द्र थियो । वरपरका मानिसहरूको बजारदेखि मेला, पूजा सबै भव्य हुन्थ्यो । सदरमुकाम सरेपछि बन्दिपुर बजार सुक्न थाल्यो । अहिले फेरि बन्दिपुर हराभरा भएको छ ।



पचास वर्षअघि मैले खिचेका बन्दिपुरका तस्बिरहरू म अहिलेको पुस्तालाई हस्तान्तरण गर्न चाहन्छु । त्यो बेलाको तस्बिरमा देखिने सानो बच्चा अहिले हजुरबा हजुरआमा बनिसके । म उनीहरूलाई पनि ती सम्झना दिन चाहन्छु । यसैले मैले अहिले बन्दिपुरमा ती पुराना तस्बिरको प्रदर्शनी गर्न लागेको ।
एक–एकजना खोजेर फोटो दिन गाह्रो हुन्छ । प्रदर्शनी नै गरेपछि सजिलो । यी तस्बिरमा म कुनै क्याप्सन लेख्दिनँ । मानिसहरूले आफैं हेरुन् र चिनुन् भन्ने मेरो अपेक्षा छ ।












0 comments:

Post a Comment