Search This Blog

Feb 2, 2016

कुष्ठरोगीको संख्या बर्षेनी वढ्दै, सुर्खेत कुष्ठरोग निवारण नभएको अवस्थामा फर्कियो

समाचार डेक्स
सुर्खेत, १७ माघ ।

    सुर्खेतमा हरेक वर्ष नयाँ कुष्ठरोगीको संख्या वढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लामा प्रति दश हजार जनसंख्यामा एक दशमलव शुन्य एक प्रतिशत जनामा कुष्ठरोग देखा परेको छ । प्रति दश हजार जनसंख्यामा एक जना भन्दा कम रोगी भए मात्रै  कृष्ठरोग निवारण भएको मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले विसं २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि सुर्खेतमा भने अझै कुष्ठरोग निवारण हुन नसकेको तथ्य सार्वजनिक भएको हो । विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार कार्यालयले पत्रकार सम्मेलन गरी तीन वर्षयता सुर्खेतमा नयाँ कुष्ठरोगीको संख्या वढ्दै गएको जनाएको छ । कार्यालयका क्षयकुष्ठ अधिकृत गणेशभक्त गौतमले आर्थिक वर्ष ०६९/७० मा १३ जना, ०७०/७१ मा २२ जना र आर्थिक वर्ष ०७१÷७२ मा ३५ जना नयाँ कुष्ठरोगी फेला परेको बताए । चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरेन्द्रनगर, मेहलकुना, साटाखानी, बावियाचौर, गुटु, उत्तरगंगा, राकम, रझेना र कटकुवा हेल्थ पोष्टमा एक÷एक तथा छिन्चु र सालकोट गाविसमा २÷२ जना गरी १२ जना नयाँ रोगी फेला परेको बताइएको छ ।
हाल नयाँ र पुराना गरी ३८ जना कुष्ठरोगका विरामीको उपचार भईरहेको अधिकृत गौतमले बताए । गौतमले २० जना कुष्ठरोगी उपचारपछि निको भएको समेत जानकारी दिए । ७ वर्षअघि नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्दा सुर्खेतमा प्रति १० हजारमा एक जना भन्दा कमलाई कुष्ठरोग देखिएपनि पछिल्लो समय भने एक जना भन्दा वढीलाई कुष्ठरोग लागेको पाइएको हो ।
कुष्ठरोगले अंगभंग हुने भएकोले समाजमा अपहेलित हुने डरले धेरै कुष्ठरोगीले रोग लुकाउने गर्दा उपचारमा चुनौती हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा अधिकृत बसन्तमान श्रेष्ठले वताए । शरीरको कुनै भागमा नदुख्ने फुस्रो दाग देखापर्नु, अनुहार र कानको नजिक गिर्खाहरु देखिनु, हातखुट्टाका औँलाहरु लाटो, कमजोर, खुम्चिदै जानु जस्ता कुष्ठरोगका लक्ष्य देखिनासाथ स्वास्थ्य संस्थामा चाँज गराए कुष्ठरोग समयमै निको हुने उनले बताए । कुष्ठरोगको लक्षण देखिएपनि उपचारका लागि विरामी समयमै अस्पताल नआउने र रोग लुकाउने प्रबृत्तिका कारण रोगको प्रभाव बढ्दै गएको उनको भनाई थियो । त्यस्तै जिल्ला जन–स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रमुख लोकबहादुर शाहीले रोग लुकाएर राख्ने, उपचारका लागि ढिलो आउने र समयमा स्वास्थ्य संस्थामा नपुग्ने गरेकाले रोग निवारणमा समस्या देखिएको बताए । सरकारले कुष्ठरोग नियन्त्रण गर्नका लागि सबै जिल्लामा कुष्ठरोगका बिरामीलाई निःशुल्क उपचार र औषधी उपलब्ध गराउँदै आएको छ ।
कुष्ठरोग दिवसमा फलफूल वितरण
६३ औं कुष्ठरोग दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र आईएनएफ सुर्खेतको संयुक्त आयोजनामा आईएनएफमा उपचार गराइरहेका बिरामीहरूलाई आइतबार फलफूल वितरण गरिएको हो ।
फलफूल वितरणपछि जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका क्षय तथा कुष्ठ अधिकृत गणेशभक्त गौतमले कुष्ठरोग निवारणका लागि प्रयास भइरहेको भन्दै अझै यसका बारेमा जनचेतनाको कमी रहेको बताए । उनले भने–पछिल्लो समय चेतनास्तरमा वृद्धि हुँदै गएकाले कुष्ठरोगीहरू खुल्न थालेको बताए । यद्यपि कहिकतै अझै पनि कुष्ठरोग लागेकाहरूलाई विभेद गर्ने प्रवृत्ति भने कायमै छ ।’ कुष्ठरोग उपचारपछि निको हुने भए पनि कतिपयको लापरवाही र समाजमा विभेद हुने डरले गर्दा कतिपय बिरामीहरू खुल्न नसकेको उनको भनाई थियो । आईएनएफ सुर्खेतका क्लिनिकल कस्ट मेनेजर राजेन्द्र सुनारले समयमै स्वास्थ्य संस्थामा नपुग्नाले कुष्ठ रोगले धेरै नागरिकहरु पीडित बन्नु परेको बताएका थिए । उनका अनुसार अनुसार आईएनएफ सुर्खेतमा हाल ३० जना कुष्ठ रोगीहरूले उपचार गराइरहेका छन् । लक्षण देखिन बितिकै नजिकको स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा उपचार गराउँदा कुष्ठरोग निको हुने उनले बताए  । सरकारले कुष्ठरोग नियन्त्रण गर्नका लागि सबै जिल्लामा कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनले विसं २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अझै कुष्ठरोग निवारण हुन सकेको छैन ।

0 comments:

Post a Comment