Search This Blog

Feb 14, 2016

आज फेब्रअरी १४, युवा युवतीलाई प्रणय दिवसको रन्को


सुर्खेत, १ फागुन ।
करिब एक महिना नै हुन थाल्यो । फेसबुक ट्वीटरलयायतका सामाजिक सञ्जालमा ‘भ्यालेन्टाईन डे’का बारे चर्चा परिचर्चा हुन थालेको । फेब्रअरी १४ मा प्रेम दिवस भएपनि यसअघिदेखि नै गुलाफको फूल र गिफ्ट साटासाट गर्ने युवा जमात बढ्न थालेका छन् । वीरेन्द्रनगरको चौक चौकमा रहेको गिफ्ट पसलहरु यतिबेला भरिभराउ छन् । गिफ्ट पसलहरुमा ‘भ्यालेन्सटाइन स्पेशल’ गिफ्ट सजिएर झकिझकाउँ देखिन्छन् ।
गिफ्ट पसलमा रोज्दैछन् प्रेमीहरु के राम्रो होला उसको लागी अनि उनको लागी । अनि वर्षौवर्षदेखी मन पराएकालाई प्रपोजको झटारो हान्दैछन् ।
आज ‘भ्यालेन्टाईन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ । पश्चिमा मुलुकबाट भित्रीएको ‘भ्यालेन्टाईन डे’ नेपाली युवाहरु माझ पनि पछिल्लो क्रममा निकै लोकप्रिय बन्दै गएको छ । आफ्नो प्रियतम र प्रेमिकालाई ‘भ्यालेन्टाईन डे’ को मौकामा घुमाउन लैजाने, सपिङ गर्ने र मायालाई अझै प्रगाढ बनाउने कोसिस गर्दै छन् भने कोही यहि मौकामा कसैलाई मुटु दह्रो पारेरै भए पनि प्रेम प्रस्ताव राख्ने जमर्के गर्दैछन् ।
विहे गरिसकेका जोडिहरुको भने तयारी अलिक भिन्न छ । तर गिफ्ट पसलहरुमा वढि भिड भाड र रन्को प्रेममा मस्त भएकाहरुकै देखिने गरेको छ । वीरेन्द्रनगरको बुद्धपथमा रहेको एसपी गिफ्ट कर्नरका संचालक प्रताब थापाले गिफ्ट किन्न बिशेषगरी युवा युवतीहरु नै आउने गरेको बताए । उनले अन्य समय भन्दा ‘भ्यालेन्टाईन डे’मा बढी ब्यापार हुने गरेको जानकारी दिए । सचांलक थापा भन्छन्, –‘गिफ्ट छान्दा धेरै ख्याल गर्नुपर्छ, आफुलाई मन पर्ने हैन, आफ्नो मान्छेलाई मन पर्ने किन्नुपर्छ ।’
प्रणय दिवसमा प्रेममा मस्त भएकाहरु, एकअर्काप्रति रुची भएकाहरु, विहे भैसकेकाहरु अर्थात जो कसैले पनि निर्देशन दिएझै यो दिनलाई विशेष अनि फरक वनाउन खोज्दैछन् ।
शुक्रबार वीरेन्द्रनगरको एक गिफ्ट पसलमा भेटिएका २० बर्षे युवा ‘भ्यालेन्टाईन डे’मा आफ्नी प्रेमिकालाई दिने उपहार छान्दै थिए । उनले काँक्रेविहार दैनिकसँग भने– ‘गिफ्ट त जहिले पनि दिईन्छ तर, ‘भ्यालेन्टाईन डे’मा दिदा एक आपसमा प्रेम र विश्वास बढ्छ ।’ उनले थपे–‘हुन त मायालुहरुको ससांरमा रमाउनेहरुको परिभाषा, माया गर्नका लागी यहि दिननै चाहिदैन । तर यो दिनलाई प्रर्खनेहरुले त सार्थक तुल्याउनु प¥र्योनी ।’ यो दिवस अरुहरुको तुलनामा किशोर किशोरी र युवा युवतीहरुलाई बढी लाग्ने गरेको छ ।
‘भ्यालेन्टाईन डे’को सुरुवात १८औँ शताब्दिको अन्त्यतिर रोमबाट भएको थियो । रोमका एक सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । भनिन्छ सम्राटको आदेशलाई एक पादरी भ्यालेन्टाईन नामका व्यक्तिले उल्लंघन गरेका थिए । सर्वसाधारण नागरिकले आफ्नो आदेशको उल्लंघन गरेको कारण सम्राटले भ्यालेन्टाइन्सलाई मृत्युदण्ड दिए । यसरी नै उनलाई मृत्युदण्ड दिइएको दिन १४ फेब्रअरी संसारमा ‘भ्यालेन्टाईन डे’ मनाउने गरिन्छ । त्यसै समयदेखि नै महान् प्रेमी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रअरी १४ का दिन विश्वका करोडौं प्रेमी–प्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने गरेका छन् ।

0 comments:

Post a Comment