नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखामा सोमबार भएको निर्वाचनको मत
परिणाम सार्वजानिक गर्नु र केन्द्रीय सभापति सुशील कोइरालाको निधनको खबर
बाहिर आउनु एकै समयजस्तो भयो। चार जना उमेद्वारबीच सभापति पदका लागि
निर्वाचन भएको र कसले निर्वाचन जित्ला भन्ने चासो बढेपछि नेता,
कार्यकर्ताहरु चासोपूर्वक मत परिणामको सुन्न प्रतिक्षारत थिए।
३७३ मतसहित हरिबहादुर घले अर्को कार्यकालका लागि पनि सभापति निर्वाचित भए।
निकटतम प्रतिद्वन्द्वी पूर्व सचिव किरणबाबु श्रेष्ठ, ईश्वर पाण्डे र
फणिन्द्र धिताललाई पछि पार्दै घले सभापतिमा बिजयी त भए तर खुसी साँटासाँट
गर्न पाएनन्। मंगलबार बिहान दुई बजेसम्म केन्द्रिय सभापतिको निधन भएको खबर
नेता, कार्यकर्ताको कानमा पुगेको थियो। बिजयको खुसी साट्न नपाउँदै संस्थापन
पक्षको प्रतिनिधित्व गर्दै बिजयी बनेका घले गहिरो शोकमा डुबे।
सभापतिसहित सचिव र कोषाध्यक्ष पदमा संस्थापन (कोइराला) र देउवा पक्षका
नेताहरु चुनावी प्रतिस्पद्र्धामा थिए। सभापतिमा उठेका श्रेष्ठले १५५ मत
प्राप्त गरे भने पाण्डेले १२९ मत प्राप्त गरेका छन्। धितालले ५७ मत मात्रै
प्राप्त गरे। उनीहरु मध्ये घले र श्रेष्ठ संस्थापन, पाण्डे र धिताल देउवा
पक्षका मानिन्थें। चार जनाबीच चुनावी प्रतिष्पर्धा भएको र भोट बाँडिने
आँकलन गर्दै सभापतिका लागि फेरि निर्वाचन गर्नुपर्ने अनुमानका बीच घले
सभापतिमा बिजयी भएका थिए।
सचिव पदमा २९१ मतका साथ पूर्णबहादुर दाहाल निर्वाचित भए। उनका प्रतिस्पर्धी
निवर्तमान नगर सभापति राजनराज पन्तले २७० मत ल्याए भने, जिल्ला सदस्य
रहेका रामशरण अधिकारीले ८४ मतका साथै तारानाथ पुडासैनीले ४९ मत प्राप्त
गरे। सचिव पदमा संस्थापन पक्षका दाहाल बिजयी भए। कोषाध्यक्षमा २५९ मतका साथ
पूर्वसहसचिव कृष्णबहादुर आले निर्वाचित भएका छन्। उनले निकटतम
प्रतिद्वन्द्वी चेतबहादुर अधिकारीको भन्दा ३ मत बढी ल्याए भने अर्का
उमेद्वार बलराम खड्काले १७४ मत ल्याएका हुन्।
अधिवेशनले जिल्ला कार्यसमितिका २१ सदस्य पनि निर्वाचित गरेको छ। निर्वाचन
क्षेत्र नम्वर १ मा महिलातर्फ ललिता अधिकारी र बिना श्रेष्ठ, २ मा मीना
अधिकारी र गौरीमाया तामाङ निर्वाचित भइन् भने क्षेत्र नम्वर ३ मा फूलमाया
गुरुङ र अम्बिकादेवी थापा निर्विरोध चयन भए। आदिवासी जनजाति तर्फ क्षेत्र
नम्वर १ बाट हिराबहादुर थापा, २ बाट भक्तबहादुर गुरुङ र ३ बाट टिकाराम
गुरुङ निर्वाचित भएका हुन्।
दलित कोटामा १ बाट लालबहादुर विक, २ बाट जोगबहादुर कोइराला र क्षेत्र नम्वर
३ बाट संगीता सुर्खेती निर्वाचित भए। अल्पसंख्यक तर्फ क्षेत्र नम्वर १ बाट
सलाउद्धिन मिया र ३ बाट लुत्रबहादुर बराम निर्वाचित भएको कांग्रेस गोरखाले
जनायो। क्षेत्र नम्वर २ बाट मीना कुमाल थापा निर्विरोध चयन भइन् खुल्ला
तर्फको २/२ सदस्यमा क्षेत्र नम्वर १ बाट नारायण लामिछाने र तोकमान श्रेष्ठ,
२ बाट रामप्रसाद भण्डारी र भेजराज पाण्डे निर्वाचित भएका छन्।
क्षेत्र नम्वर ३ को खुल्ला तर्फ राजु गुरुङ ११८ मतका साथ निर्वाचित भए।
अर्का सदस्यमा सन्तोष गुरुङ र तान्द्राङका ठाकुर भट्टको बराबर ९५ मत
प्राप्त भएको निर्वाचन अधिकृत परशुराम घिमिरेले बताए। निर्वाचन मण्डलले
उनीहरुमध्ये कसलाई कुन विधि अनुसार विजेता चयन गर्ने भन्ने टुंगोपछि
लगाउनेछ। कुल ७७२ मतदातामध्ये ७३२ जना मतदानमा निर्वाचनमा सहभागी रहे।
पार्टी सभापतिको निधनको खबर पाएका केन्द्रीय, जिल्ला र गाउँस्तरका
कार्यकर्ता बिहानै राजधानी फर्किसकेका छन्। सभासद चीनकाजी श्रेष्ठ, कमला
पन्त, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेसहित जिल्लास्तरका नेता,
कार्यकर्ता राजधानी गइसकेका छन्।
0 comments:
Post a Comment