डिलप्रसाद शर्मा
सुर्खेत, ५ पुस ।
सुर्खेत, ५ पुस ।
आफ्ना माग पूरा नगरेको भन्दै विद्यार्थीहरुले वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयका पदाधिकारीहरु शैक्षिक गुणस्तर सुधार गर्नुको साटो भ्रमण र सुखसयलमा मात्र व्यस्त भएको भन्दै उनीहरुले उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा आइतवार विहान तालाबन्दी गरेका हुन् । एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा विद्यार्थीहरुले विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र रजिस्ट्रार डा.महेन्द्रकुमार मल्लको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेका छन् । आफ्ना माग पूरा नभए सोमवारदेखि रिले अनसन शुरु गरिने विद्यार्थीहरुले बताएका छन् । यस्तै आमरण अनशनदेखि विश्वविद्यालय नै बहिस्कार गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरु समेत उनीहरुले अगाडि सारेका छन् । विद्यार्थीहरुले विश्वविद्यालयमा बृद्धि गरिएको १० प्रतिशत शुल्क तत्काल खारेज गर्नुपर्ने र अवैधानिक रुपमा भर्ना भएका प्राध्यापकहरुलाई हटाउनु पर्ने माग गरेका छन् । विद्यार्थीहरुले विश्वविद्यालयका पदाधिकारीहरु विदेश भ्रमण र जिल्ला भ्रमणमा मात्र व्यस्त भएको भन्दै तत्काल यसलाई रोक्न माग गरेका छन् । विश्वविद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ भन्दा पनि पदाधिकारीहरु व्यक्तिगत सुखसयलमा रमाउन थालेको भन्दै विद्यार्थीहरुले काठमाण्डौमा रहेको सम्पर्क कार्यालयका लागि कार खरिद गर्ने निर्णय खारेज हुनुपर्ने बताएका छन् । यस्तै उनीहरुले पदाधिकारीहरुले गरेको विदेश र जिल्ला भ्रमणको खर्च सार्वजनिक गर्नुपर्ने, पाँचजना भन्दा कम विद्यार्थी भएको विषय नपढाउने भन्ने निर्णय फिर्ता लिनुपर्ने र तत्काल स्ववियू निर्वाचन घोषणा गर्नुपर्ने लगायतका विभिन्न १३ बुँदे माग राखेर आन्दोलन शुरु गरेका हुन् । अखिल क्रान्तिकारी मप विश्वविद्यालयका इन्जार्ज तथा निर्वतमान स्ववियु सभापति केशव शाहीले माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताए । ‘जनताले आफ्नो छाक कटाएर यो विश्वविद्यालय स्थापना गरे, आज पदाधिकारीहरु जनताको रगत र पसिनामा स्थापित विश्वविद्यालयमा फजुल खर्च गरिरहेका छन्’, उनले भने, ‘यहाँ पढ्ने राम्रो व्यवस्थापन र सुविधा छैन, तर पदाधिकारीहरु भने भ्रमणमा मात्र व्यस्त छन् ।’ उनले आफूहरुका माग पूरा गरेर पढ्ने राम्रो व्यवस्थापन नगरिए पुस ९ गतेबाट भर्ना शुल्क फिर्ता मागरे विश्वविद्यालय नै बहिस्कार गर्ने जानकारी दिए । पटक पटक वार्ता र छलफल गर्दा समेत माग पूरा नभएपछि आफूहरु आन्दोलनमा उत्रिएको उनको भनाइ छ । यता विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले भने विद्यार्थीका ९५ प्रतिशत माग पूरा गरिसकेको बताए । विश्वविद्यालयलाई दीर्घकालिन असर पुग्ने केही माग बाहेक सबै माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै मल्लले वार्ता र छलफलबाट निकास खोज्न समेत विद्यार्थीहरुलाई आग्रह गरे ।
0 comments:
Post a Comment