बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर, तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने काठमाडौं, वसुन्धराका माधव कार्की हुन् । मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले कुशलतापूर्वक पूरा गरेका छन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई चालक कार्कीले एक्लै हाँकेका छन् । मुलुकको शासनको बागडोर सम्हाल्ने प्रधानमन्त्री एक–दुई हैन १२ जनालाई सुरक्षित गन्तव्यमा पु¥याउँदा चालक कार्कीका विभिन्न अविष्मरणीय र रोचक अनुभूति र अनुभव छन् ।
कार्कीले विसं २०५६ देखि तत्कालीन प्रधानमन्त्री भट्टराईको गाडी चलाए । त्यसपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, खिलराज रेग्मी(मन्त्रिपरिषद् अध्यक्ष), सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी चलाएका छन् । विसं २०४२ मा कृषि मन्त्रालयमा सवारी चालकका रुपमा सेवा प्रवेश गर्नुभएका कार्कीले २०४७ सालमा गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा भई प्रधानमन्त्रीको सवारी चलाउने महत्वपूर्ण जिम्मेवारी पाए । त्यसो त चालक कार्कीले कुनै संस्थाबाट तालिम लिएका छैनन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको समयमा मिलन बस्नेतले उनलाई तालिम दिएका थिए । प्रधानमन्त्रीको गाडी सुरक्षा कारकेडको गतिअनुसार चलाउनु आफैंमा चुनौतीपूर्ण हो । निकै सचेतपूर्वक सवारी चलाउनुपर्ने हुन्छ । त्यतिका चुनौतीबाट विचलित नभइकन कार्कीले जिम्मेवारी पूरा गरिरहेका छन् । कुनै प्रधानमन्त्रीलाई तीव्र गति मन पर्ने र कसैलाई कम गति मन पर्ने, त्यसैले व्यक्तिको चाहना र आवश्यकतानुसार सवारीको गति सन्तुलन गर्नुपर्ने बाध्यता उनलाई थियो र छ । बाह्र प्रधानमन्त्रीको निरन्तर सवारी चलाउँदा त्यसबीचमा फेरबदल भइरहने प्रधानमन्त्रीसँगका विभिन्न अनुभूति कार्कीमा छ । प्रधानमन्त्रीको सवारी चलाउन नेपाली सेनाका कर्णेल र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकले प्रशिक्षण दिन्थे । सवारीका बेला कहीँ कतै गाडी भगाउनुपरेमा कारकेड मोटरसाइकलको गतिमा (५० देखि ८०) को गतिमा हाँक्नुपर्छ । चालक कार्कीलाई भने अन्य हँकाइभन्दा कार्यकारी प्रमुखको गाडी हाँक्न सजिलो र मज्जा हुन्छ । ‘प्रधानमन्त्रीको सवारीमा हर्न बजाउनु पर्दैन, कतै रोक्नु पनि पर्दैन र जाम पनि हुँदैन,’ कार्की भने । यतिका प्रधानमन्त्रीसँग हिमचिम हुँदा पनि त्यस्तो कुनै लाभ लिन नसकेका उनलाई पेसाप्रति सदैव गौरवको अनुभूति हुन्छ । ‘मलाई गौरव लाग्छ, म आफ्नै मेहनतले आज यो ठाउँमा पुगेको छु, देशको प्रधानमन्त्रीको सवारी हाँक्न पाउँदा असाध्यै खुसी र गर्व लागेको छ’ कार्कीले भने । अबको छ महिनापछि उमेर हदका कारण सेवानिवृत्त हुन लागेका कार्कीले बाँकी जीवन सानोतिनो व्यवसाय गरेर बिताउने योजना सुनाए । उनी निजामती सेवा अन्तर्गत पाँचौँ तहबाट सेवानिवृत्त हुँदैछन् । कार्कीको परिवारमा श्रीमतीसहित दुई छोरा र चार छोरी छन् । चालक कार्कीको अनुभवमा मुलुक हाँक्ने प्रधानमन्त्रीजस्तो व्यक्तिको सवारी हाँक्ने एउटै चालक हुनु राम्रो हो, व्यक्तिपिच्छे चालक फेरिँदा सवारी दक्षता कम हुने हुँदा जोखिम निम्तन सक्छ । बाह्र प्रधानमन्त्रीका अहिलेसम्म चार वटा मात्र सवारी फेरिएका छन् । अहिलेका प्रधानमन्त्रीको नयाँ सवारी छ । हालसम्म प्रधानमन्त्रीले चढ्ने महँगो गाडी भनेको करिब सात करोड मूल्यको छ । सबैभन्दा महँगो बिएमडब्लु कार हो जसको आठ करोड मूल्य पर्छ । परराष्ट्र मन्त्रालयको यो कार विशेष समारोहका बेला मात्र प्रयोग गरिन्छ । सामान्यतःप्रधानमन्त्रीको सवारीमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)का गाडी र ट्राफिक प्रहरीको कारकेड मोटरसाइकल हुन्छन् । दैनिक ३२ देखि ३४ जना सुरक्षार्थ खटिन्छन् तर, विशेष समारोहमा गाडी पनि बढी हुन्छन् । मोटरसाइकल कारकेड नौ वटा अघिपछि र दायाँबायाँ १० वटा हुन्छ ।
0 comments:
Post a Comment